झापा, साउन २९ । दक्षिणी झापाको चर्चित धार्मिकस्थलको रुपमा विकसित हुँदै गएको कचनकवल १ को भुतेश्वर महादेव मन्दिरमा आज भक्तालुको भीड लागेको छ ।

साउनको अन्तिम सोमवार त्यहाँ जल चढाउने भक्तालुहरुको भीड लाग्ने गरेको हो । २०१२ सालमा बैजनाथ राजवंशीले भुतेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका थिए ।उनैले मन्दिरलाई २ विगाह १६ कठ्ठा जग्गा दान दिएका थिए । २०५५ सालदेखि त्यस मन्दिरमा मन्दिर समितिले बोलबम शुरु गरेको हो । साउनको प्रत्येक सोमवार जल चढाउने भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । भुतेश्वर महादेव मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरु निर्माण गरिएका छन् । पहिला संगै जोडिएको भुतेश्वर बाबा र बोलहरिको मन्दिर मात्र रहेको थियो । तर, अहिले बद्रीनाथ ,गणेश , कार्तिक , हनुमान , पार्वती ,शिवशक्ति , कैलाश र गंगाको मन्दिर निर्माण गरिएको छ । त्यस्तै हवन कुण्ड , धर्मशाला , सत्संग भवन, प्रसाद वितरण गर्ने घर पनि बनाइएको छ । आफूले मागेको मनोकामना पूरा हुने आस्था र विश्वासका साथ भारतको विहार , बंगाल र नेपालको विराटनगरसम्मका भक्तजनहरु आउने गरेको आयोजक सोमवारे साउने बोलबम मेला समितिले जनाएको छ ।

अन्य धार्मिकस्थलहरुमा नगद र जिन्सी दान दिने गरिएपनि त्यस मन्दिरमा भाकलस्वरुप भक्तजनहरुले गोरु(बाछो) दान पनि दिने गरेको पाइएको छ । आफ्नो मनोकामना पूरा भएपछि त्यस शिवालय मन्दिरमा शिवको बाहन गोरु दान दिने गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्