झापा , साउन ३० । विराटनगरको सन्सारीमाइस्थान नजिकै युवकहरूको तरबार प्रहारबाट २२ वर्षीय एक युवक सख्त घाइते भएका छन् ।

सोमबार दिउँसो मोहमद हलिममाथि एक समूहले तरबार प्रहार गरेको प्रहरीले जनाएको छ । सख्त घाइते भएका हलिमको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर-८ का हलिममाथि सोही वडाका युवकहरु समीर हुसेन, अमन कुरेसी, विराटनगर-११ जनपथ टोलका कुशल पाण्डे र सरोचियाका सदाब अन्सारीको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । केही दिनअघिको विवादलाई लिएर हलिममाथि तरबार प्रहार भएको स्थानीयहरूले बताएका छन् । उक्त घटना पछि फरार भएकाहरुको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ । विराटनगरमा यो पहिलो घटना भने होइन ।

गत कात्तिक २४ को बिहान विराटनगर-८ अशोक चोकका ५२ वर्षीय अफाक आलमलाई लेनदेन विवादमा खुकुरी प्रहार गरी घाइते बनाएका स्थानीय युवक साराजुनलाई प्रहरीले पक्राउ गरेको थियो । २०७८ असोज १० को अपराह्न उच्च अदालत विराटनगरको गेटमै काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका-८ मा बस्ने युवा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहरा भएको थियो ।घटनापछि फरार विराटनगर-६ का युवक विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । लामाको मोरङको कटहरी गाउँपालिका-६ मा रहेको इट्टा उद्योगमा लगानी थियो । उद्योगको कामले विराटनगर आउजाउ गर्ने लामालाई व्यवसायीहरुसँगको विवादलाई लिएर खुकुरी प्रहार भएको बुझिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्