झापा, साउन ३० । झापामा केही दिनदेखि काठ तस्करी बढेको छ । हिजो बुद्धशान्तिमा एक ट्रयाक्टर अवैध काठसहित दुईजना पक्राउ परेको भोलिपल्ट मेचीनगरमा फेरि एक ट्रयाक्टर अवैध काठसहित एकजना पक्राउ परेका छन् ।

आज बिहान ६ः५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. १० निन्दा पुलमा प्रदेश १–०२–००३ त १८१२ नं. को ट्रयाक्टरमा आँप,कदम, छतिउनलगायत बिभिन्न जातको गोलिया काठ ८३ थान (१२६ क्यु.फिट)फेला पारेको छ । चेकजाँच गर्दा स्थानीय वडा कार्यालयको बिल तथा आवश्यक कागजातहरु नभएकोले उक्त ट्रयाक्टरका चालक मेचीनगर २ बस्ने अन्दाजी २३ वर्षिय तेजबहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

यसअघि हिजो साँझ बुद्धशान्तिमा एक ट्रयाक्टर अवैध काठसहित दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा ट्रयाक्टर चालक बुद्धशान्ति गाउँपालिका वडा नं.४ बस्ने २४ वर्षिय सविन विश्वकर्मा र ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षिय धनाहाङ लिम्बू रहेका छन् । हिजो साँझ ५.४० बजेको समयमा जिल्ला बुद्धशान्ति ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ न.को ट्रयाक्टरमा सखुवा जातको गोलिया काठ १६ थान (५८.२२ क्यु फिट) लोड भएको अवस्थामा फेला पारी ट्रयाक्टर,ट्रयाक्टर चालक विश्वकर्मा र ट्रयाक्टरमा सवार लिम्बूलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्