बिर्तामोड, साउन ३० । प्रसूती गराउन आएकी सुत्केरीको अवस्था गम्भीर भएपछि बिर्तामोडको मनमोहन अस्पतालमा हिजो साँझदेखि उत्पन्न विवाद सहमतिपछि अन्त्य भएको छ । जनप्रतिनिधि, अस्पताल प्रशासन, पीडित परिवार र अधिकारकर्मीबीच भएको छलफलपछि विवाद अन्त्य भएको हो ।

प्रसूती गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ बर्षिया सिर्जना संग्रौलाको उपचारका क्रममा भएको लापरवाहीका कारण अवस्था गम्भीर भएको भन्दै हिजो साँझदेखि परिवार र आफन्तले आन्दोलन गरेका थिए । डाक्टर एकराज गौतमले अपरेसन गरी बच्चा जन्मिसकेपछि सुत्केरीको अवस्था गम्भीर बनेको थियो ।
मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासिटी अस्पताल लगिएको थियो । बिर्तासिटी अस्पतालमा उपचार हुँदै गर्दा संग्रौलाको अवस्था गम्भीर भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उपचार गर्दा सुत्केरीको अवस्था गम्भीर भएपछि उनका आफन्त र मनमोहन अस्पताल प्रशासनबीच विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएर ठुलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रशासनले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । मंगलवार पनि अस्पताल परिसरमा प्रहरीले सुरक्षा दिएको थियो ।

मंगलवार अपरान्ह पीडित परिवार र अस्पताल प्रशासनबीच भएको वार्ता सहमतिमा अन्त्य भएको छ । अस्पताल प्रशासनले पीडित परिवारलाई २० लाख रुपैयाँ राहतस्वरुप दिने र शिशुको शिक्षा तथा स्वास्थ्यको लागि १५ लाख रुपैंयाँ बैंकमा जम्मा गर्ने, उपचारका क्रममा लागेको खर्च मनमोहन अस्पतालले व्यहोर्नेलगायतका सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।

अस्पतालले आज १० लाखको चेक दिएको छ । बाँकी रकम असोज महिनाभित्र दुई किस्तामा दिने बुझिएको छ । हिजो राति पनि २० लाख क्षतिपूर्ति दिने र शिशुको शिक्षा , स्वास्थ्यको जिम्मा अस्पतालले लिने सहमति भएको थियो । त्यसलाई आज प्याकेजमा सहमति गरिएको उपप्रमुख संग्रौलाले बताए । हिजो राति सिर्जनाको माइती पक्षले अस्पताल प्रशासनसंग मौखिक सहमति गरेको र त्यस सहमतिलाई घरपरिवारले नमानेर आज फेरि अर्को सहमति गरिएको एक आफन्तले जनाएका छन् । हिजो नै सिर्जनाको मृत्यु भएको भनी आफन्तले बताएकोमा आज मृत्यु नभई भेन्टिलेटरमा उपचार भइरहेको बताउँदै घरपरिवारले क्षतिपूर्तिको रकम बुझेका छन् ।।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्