झापा , साउन ३१ । विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार विराटनगर महानगरपालिका-८ का २२ वर्षीय समीर हुसेन र विराटनगर-६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जानकारी पोखरेलले दिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ । उनका अनुसार तरबार प्रहारबाट विराटनगर-८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

हलिममाथि विराटनगर-१० सन्सारीमाईस्थान नजिकै सोमबार दिउँसो २ः४५ बजेतिर तरबार हानिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा ८ जनाको संलग्नता देखिएको छ । फरार रहेका ६ जनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् । घटनामा संलग्नको खोजीमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ । घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए । पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्