झापा , भदौ ६ । आज देशभरका केही साना तथा ठूला नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ईलामदेखि कञ्चनपुरसम्मका केही साना तथा ठूला नदीमा बाढीको सम्भावना छ ।


आज ईलाम, झापा, सिन्धुली, मकवानपुर, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कन्चनपुर र आसपास भएर बहने अधिकांश स–साना नदीहरुको बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

साथै, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), पाल्पा, प्युठान, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, बाजुरा, बझाङ र आसपास भएर बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
यस्तै, भोलि कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । साथै कोशी, मधेस र लुम्बिनी प्रदेशको तराई भू–भाग भई बहने केही स–साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

महाशाखाका अनुसार आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ । नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्