बिर्तामोड , भदौ ७ । कोरिया भाषा सिकाउनका लागि बिर्तामोडमा बुसान सिटी कोरियन भाषा इन्स्टिच्यूट संचालनमा आएको छ ।

बिर्तामोड ७ का दिलकुमार राईले बिर्तामोडको भद्रपुर रोडमा खोलेको इन्स्टिच्यूटको बिहीवार कोशीका प्रदेश सांसद एकराज कार्कीले उद्घाटन गरे । प्रमुख अतिथि सांसद कार्कीले भाषा ,सीप सिकेर र भूगोल बुझेर मात्र कोरिया जान आग्रह गरे । उनले विगतमा भोकमरी पर्दा कोरियामा चामल निर्यात गरेको नेपालले अहिले काम गर्न कामदार पठाउनुपर्ने नाजुक परिस्थिति भोग्नु परेको दुःखेसो सुनाए । कार्यक्रमका विशिष्ट अतिथि बिर्तामोड– ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले पछिल्लो समय दक्षिण कोरिया नेपालको लागि रोजगारको आकर्षक नयाँ गन्तव्य बनेको बताए ।

पाँच वर्ष कोरिया बसेका र पाँच वर्ष काठमाडौंको विभिन्न इन्स्टिच्यूटमा कोरिया भाषा सिकाएका बिर्तामोड– ७ का राईले आफ्नै ठाउँमा सिकाईस्थल खोलेका हुन् । उनले कोरिया भाषाको प्रशिक्षक बन्न , पर्यटन व्यवसाय गर्न र कोरिया जानका लागि कोरियन भाषा सिक्न जरुरी भएको बताए ।

सो इन्स्टिच्यूटले विपन्न परिवारका लागि शुल्कमा सहुलियत दिने र अति विपन्न परिवारलाई निःशुल्क सिकाउने जनाएको छ । हाल सो इन्स्टिच्यूटमा २० जना विद्यार्थी भर्ना भएका छन् । सरोज न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत प्रशिक्षक गोविन्द दाहालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्