झापा, भदौ ९ । झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका भारत पश्चिम बंगालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेको उजुरी परेको छ ।

उनी धेरै सर्वसाधारण एवं व्यापारीलाई ठगेर बेपत्ता भएका हुन् । अग्रवालले पाँच जिल्लाका २ सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितहरूले दिएको सापटी र ब्याज मराउनीमा लिएको उजुरीमा उल्लेख छ । उनले सबैगरी ८० करोडभन्दा धेरै रकम लिएर भागेको कारोबारीहरू बताउँछन्  ।

अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाई गरिदिएका छन् । पीडितहरूले भएका सबै प्रमाण उजुरी पत्रसँगै संलग्न राखेका छन् । ठगीमा परेकामध्ये १७ जनाले बिहीबार जिल्ला प्रहरी पाँचथरमा सामूहिक निवेदन दिएका छन् । यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेका छन् । उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नु भन्दै दिएका चेकको खातामा रकम नभएको पीडितहरूले बताएका छन् । ब्याजको प्रलोभनकै कारण टाढाबाट आएका व्यापारीलाई कारोबारीले ठूलो परिमाणमा पैसा सापटी दिने, भरपर्दो कागज नबनाउने र भागिसकेपछि मात्रै प्रहरी प्रशासन गुहार्ने गरेका कारण ठगिने क्रम नरोकिएको पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले बताए ।

बिर्तामोडमा पसल सञ्चालन गर्दै आएका उनी व्यवसायीहरूबाट अलैंची र नगद लिएर एक महिनादेखि बेपत्ता भएका हुन् । उनी श्रीमती, बुबा, आमा र छोरीहरूसँग बिर्तामोडमा बस्दै आएका थिए । अग्रवाल सपरिवार एक महिना अघिदेखि बेपत्ता भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका छन् । उनका बुबा भारतबाट आएर ५० वर्षदेखि बिर्तामोडमा व्यापार गर्दै आएका थिए । पंकजको नाममा झापाबाटै ०४–०१–६९–१०९५३ नम्बरको नागरिकता जारी भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्