झापा, भदौ ९ । गौहत्याबिरुद्ध प्रदर्शनका लागि धरान जान लागेका दुईवटा गाडीका प्रदर्शनकारीहरुलाई प्रहरीले झापाको चारपानेमा रोकेको छ ।

धरान जान नपाएपछि उनीहरुले चारपानेमा नै प्रदर्शन गरेका छन् । धरान जान लागेका दुईवटा गाडीलाई केहीबेर चारपानेमा होल्ड गराएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । उनले केहीबेर होल्ड गरेर गाडी छोडिदिएको जानकारी दिए ।

उता सुनसरी जिल्ला प्रशासनले धरानमा जारी गरेको निषेधाज्ञाका कारण आज शनिवार बिहानैदेखि बजार क्षेत्र सुनसान छ । हिजो शुक्रवार राति १२ बजेदेखि लागु भएको निषेधाज्ञा अवधि आज शनिवार राति १२ बजे सकिन्छ ।निषेधाज्ञा अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताएका छन् ।


उनका अनुसार धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट वराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्र प्रवेशमा कडाइ गरिएको छ ।

यस्तै, इटहरी–२० तरहरा पानीपियादेखि उत्तर धरान क्षेत्र, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
तोकिएका नाकाहरूमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गर्ने बाहेक अन्य अनावश्यक कामका लागि हिँडडुल र भेला गर्न पाइने छैन । निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले चेतावनी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्