झापा , भदौ १३ । पाल्पामा पहिरोले स्कोरपियो पुरिँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

आज बिहान गुल्मीको तम्घासबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नं को स्कोरपियो पाल्पाको जोर्तेमा पहिरोले पुरिएको रिब्दिकोट गाउँपालिका वडा नं २ का वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताए । जेसीबी प्रयोग गरी स्कोरपियो निकालिएको उनले बताए । स्कोरपियो चालक बालकृष्ण श्रेष्ठको अबस्था सामान्य रहेको जनाइएको छ । मृत्यु र घाइते हुनेहरु यात्रुहरु रहेका छन् । उनीहरुको पहिचान खुलेको छैन ।
पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
गुल्मीबाट बुटवलतर्फ जाँदै भाडाको स्कोरपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईले बताए। पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।
