झापा, भदौ १३ ।एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको चुनौती दिएको छ ।

पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले ५ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाएका छन् । उनले १३१ बलको सामना गर्दै ४ छक्का र १४ चौकाको मद्दतले कुल १५१ रन बनाएका हुन् ।

यस्तै, मध्यक्रममा खेल्न आएका इफ्तिखार अहमदले ७१ बलमा १०९ रन बनाएका थिए । अहमदले आजमसँगको साझेदारीमा कुल २१४ रन बनाएसँगै पाकिस्तान ठूलो स्कोर खडा गर्न सफल भएको हो । पाकिस्तानका लागि मोहमद रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए भने दोस्रो र तेस्रो विकेट रनआउट भएको थिए । रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले पाकिस्तानका दुई ब्याट्स्म्यानलाई अप्रत्यासित रूपमा रनआउट गर्न सफल भएका थिए । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका थिए । लामिछानेको बलमा आउट हुनुअघि आघा सलमानले मात्र ५ रन बनाउन सके । पाँचौं विकेट भने सोमपाल कामीले लिए । नेपालका प्रायः सबै बलर पाकिस्तानी ब्याट्स्म्यानको अगाडि निरिह सावित भए ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ रोजेको थियो । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्