झापा, भदौ १७ । नेपालले आईसीसी वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा आइतबार भुटानलाई हराउन संघर्ष गर्नु पर्यो ।

लगातार तेस्रो जितका लागि नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको हो ।
जितका लागि ४० रनको लक्ष्य पाएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनायो । यो जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना भने बलियो भएको छ । नेपालको ६ अंक भएको छ । यसअघि नेपालले मलेसिया र बहराइनलाई पनि हराएको थियो ।

मलेसियाको यूकेएम–वाईएसडी ओभल मैदानमा नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् र नटआउट रहिन् । उनले एक चौका प्रहार गरिन् । नेपालले १६ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो ।
कविता कुँवर, अस्मिता कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का शून्यमा आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा आठ विकेट गुमाएर ३९ रन बनाएको थियो । त्यसमा कप्तान डिचेन वाङ्गमोले २१ रन बनाइन् र यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

डिचेनलले ४४ बलको सामना गर्दै एक चौका पनि प्रहार गरिन् । उनी बाहेक अरू कुनै पनि ब्याटरले पनि दोहोरो अंक छुन सकेनन् । नेपाली बलरमध्ये पूजा महतोले तीन तथा कविता कुँवर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले एक– एक विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्