झापा, भदौ २१ । हिजो बुधवारदेखि साप्ताहिक हाटबजार लाग्न थालेपछि बिर्तामोड– १० स्थित शिवालय चौक चम्किएको छ ।

घरअगाडिको आफ्नो पसल पनि नखोली सुस्ताएका स्थानीयवासी हाटबजार लागेसंगै उत्साहित भएका छन् । ग्रामीण क्षेत्रमा हाटबजार जम्ने कि नजम्ने भनेर आशंकित रहेको शिवालय हाट बजार व्यवस्थापन समिति पहिलो दिन नै हाटबजारमा व्यापारी र ग्राहकको चहलपहल देखेर हौसिएको छ । पहिलो दिन नै ७० भन्दा बढी व्यापारी आएका थिए भने हजारको हाराहारीमा ग्राहक उपस्थित थिए । गाउँघरमै लागेको हाटबजारमा सामान किन्न स्थानीयहरुको घुइचो नै लागेको थियो । कपडा , फलफूल , तरकारी , किराना , बीउविजन ,हातहतियार, कस्मेटिक , खाजा , मासुलगायतका उपभोग्य वस्तुका पसलहरु बजारमा आएको शिवालय हाट बजार व्यवस्थापन समितिका उपाध्यक्ष खुबराज भट्टराईले बताए । उनले बिर्तामोड १० , बिर्तामोड २ र बाह्रदशी क्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरी लगाइएको सो हाटबजारमा स्थानीय उत्पादनको बिक्रीवितरणमा जोड दिइने बताए । स्थानीय उत्पादनले बजार नपाइरहेको र उपभोग्य सामान किन्न बिर्तामोड नै जानुपर्ने समस्यालाई मध्यनजर गरी सो हाटबजार लगाइएको उनको भनाई छ । नौमती बाजा र लाखे नाचका साथ बिर्तामोड नगरपालिका वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङले सो हाटबजारको उद्घाटन गरे ।

प्रमुख अतिथि गुरुङले हाटबजारले स्थानीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । शिवालय हाट बजार व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेत ,सैनिकबजार व्यवस्थापन समितिका अध्यक्ष अनुज सुब्बा , त्रिपुरेश्वर शिवालय मन्दिर समितिका संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठ , बिर्तामोड १० का न्यायिक समिति सदस्य प्रेमराज पौडेल, त्रिपुरेश्वर शिवालय मन्दिर समितिका पूर्व अध्यक्ष सागर भट्टराई , स्थानीय समाजसेवी लक्ष्मी शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । लक्ष्मी प्राविकी शिक्षक निर्मला न्यौपानेले संचालन गरेको कार्यक्रममा स्वागत शिवालय हाट बजार व्यवस्थापन समितिका उपाध्यक्ष खुबराज भट्टराईले गरेका थिए । कार्यक्रममा वडा सदस्य धनकुमारी श्रेष्ठ , प्रहरी चौकी सैनिकबजारका असई विक्रमकुमार चौधरी ,विभिन्न टोल समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले बजार समितिलाई पाँच थान डस्टविन सहयोग गरेको थियो । उद्घाटनका अवसरमा केही हप्ताका लागि व्यापारीहरुलाई भिटौरी कर नलिने बजार समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । बिर्तामोड १० मा लागेको यो दोस्रो साप्ताहिक हाटबजार हो । बिर्तामोड १० को सैनिकबजारमा आइतवार साप्ताहिक हाट लाग्ने गरेको छ । २०२८ सालदेखि लाग्न थालेको सैनिकबजारलाई झापाकै पुरानो बजार मानिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्