इलाम, भदौ २१ । इलामको नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच नेपाली महिलाको उद्धार गरिएको छ ।            
  

विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले उद्धार गरेको हो ।

सोधीखोजी गर्ने क्रममा दलाले काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपालसहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए । उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडीका एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । उनले राति ८ बजेको समयमा सीमाना कटाउन लाग्दा शंकास्पद गतिविधि देखिएपछि सोधीखोजी गर्दा दलालले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार गर्न सफल भएको जानकारी दिए । उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन् ।

इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुका अनुसार बेचबिखनका लागि भारत लैजाने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई भारत लैजाँदै गर्दा पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ४ की २० वर्षीया सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ की १९ वर्षीया सुशीला धामी छन् । पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जवेगुले जानकारी दिए ।

माइती नेपाल पशुपतिनगरका प्रमुख ढकालले उद्धार गरिएका पाँच जनामध्ये तीन जनालाई माइती नेपाल र स्थानीय प्रहरीले परिवारको जिम्मा लगाएको छ । दुई जनालाई माइती नेपालको केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा पशुपतिनगर नाकाबाट भारत जाँदै गरेका एक सय ५२ जनालाई रोकी परिवारको जिम्मा लगाइएको छ । हराएका ८ जनामध्ये सात जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको माइती नेपाल पशुपतिनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्