झापा, भदौ २१ । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गन्गाई, ताजपुरिया जातिले बिहीवार दधिकाद पर्व मनाएका छन् ।


धार्मिक एवम् साँस्कृतिक रुपमा महत्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाउँछन् । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको संझनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।

झापाको गरामनी ,मेचीनगर नगरपालिकालगायतका स्थानमा आदिवासी समुदायले दधिकाद पर्व आयोजना गरेका थिए । भजन किर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन् । दधिकाद पर्वका अवसरमा बिर्तामोड नगरपालिकाको गरामनी , अनारमनी , नचानुवारीलगायतका ठाउँमा कार्यक्रम आयोजना गरिएको थियो । अनारमनी र गरामनीमा आयोजित दधिकाद खेल पर्वलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्