भद्रपुर, भदौ २५ । भद्रपुर नगरपालिकाले सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानूविपरितका विचार र अभिव्यक्तिहरु सामाजिक सञ्जालमा नराखिदिन सार्वजनिक अपिल गरेको छ ।
केही दिनअघि भद्रपुर नगरपालिका क्षेत्रमा गाई, गोरुको मासु खाएको विषयसंग सम्बन्धित रहेर विभिन्न व्यक्तिहरुबाट सामाजिक सद्भाव र सहिष्णुता भड्काउने किसिमका विचार र अभिव्यक्तिहरु सहितका सामग्रीहरु सामाजिक संजालमा राखिएको छ ।
त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै नगर प्रमुख गणेश पोखरेलले यस किसिमका गतिविधिहरु संचालन गरी सामाजिक सद्भाव र सहिष्णुता भड्काउने कानूनविपरितका विचार र अभिव्यक्तिहरु सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट व्यक्त नगर्न नगराउन सम्बन्धित सबैलाई अपिल गरेका छन् । उनले मुलुकी अपराध संहिता २०७४ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्न वा गराउन नहुुुुुुुुुुुुुुुुुुुुुुुने कानुनी व्यवस्था रहेको भन्दै सचेत गराएका छन् ।
गोरुको मासु खाई सांस्कृतिक क्रान्ति गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिएको भेटिएको छ । उक्त भिडियो भद्रपुर –४ रंगेडाँडाको हो । पाँच जिल्लामा एकै समय सांस्कृतिक क्रान्ति गरेको सन्देश भिडियोमा लेखिएको छ । झापा प्रहरीले उक्त भिडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । भिडियोबारे थप अनुसन्धान गर्न साइवर व्यूरोमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।