भापा,भदौ२६।अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ ।

यही मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने भएको छ। झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चार वटा समूहमा विभाजन गरी खेलाइने भएको छ। प्रत्येक समूहका विजेता र उपविजेता आठ वटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि खेलाइनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नकआउट चरण प्रवेशपछि प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्