झापा,भदौ२८।ॐकार सेना नेपालले गाई गोरुसहित एउटा गाडी नियन्त्रणमा लिएको छ । सताक्षीधामका प्रमुख सन्त नन्दकिशोर महाराजको नेतृत्वको ॐकार सेना नेपालले तस्करीको माध्यमबाट भारत लैजान लागेको पाँच वटा गाई र २ वटा गोरु नियन्त्रणमा लिएको हो । मे १ च ५६९३ नम्बरको पिकअप गाडीमा गाईगोरु खाँदाखाँद गरी सीमा नाका तर्फ लैजान खोजिएको थियो ।

सोही क्रममा गाडी नियन्त्रणमा लिएर गाईगोरुलाई उद्धार गरी सताक्षीधाम गौशाला पठाइएको छ । गाडी धनी हाविल अलिलाई आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गराई गाडी छाडिदिएको छ । दमक नगरपालिकाबाट झापा गाउँपालिका हुँदै भारततर्फ बद्ध गर्ने उद्देश्यले गाई गोरु लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पछिल्लो समयमा कोसी प्रदेशका विभिन्न भागहरूमा गाईगोरु काटेर खाएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जातीय र धार्मिक विवाद चुलिएको छ । यस अगाडि पनि ॐकार सेना नेपालले विज्ञप्ति जारी गर्दै गाईगोरु तस्करी गर्ने जो कसैलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो । जिल्लाको गौरीगञ्ज, झापा, मेचीनगरको ज्यामिरगढी, नकलबन्दा र बाहुण्डाँगीबाट गाईगोरु तस्करी भइरहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्