झापा,भदौ२८। जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणको अनुसन्धान काभ्रेका कांग्रेस नेतातर्फ मोडिएको छ । अनुसन्धानका सिलसिलामा यसमा कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले बताएको छ ।विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत मंगलबार बिहान साढे ९ बजे ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका-३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो ।सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका-३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका-३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तान पक्राउ परेका थिए ।उनीहरुको बयानबाट यसमा काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।स्रोतका अनुसार, जगत र दोर्जेले सुन रिसिभ गर्न समेत विकासकै बागमती प्रदेश ०१ २७ प. च ९९६० नम्बरको गाडी लिएर गएका थिए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुुसार, जगतले सुन आफ्नै भएको बताए पनि सम्पर्क विवरण र गाडीबाट यसमा विकासको पनि संलग्नता खुलेको थियो ।हाल प्रहरी विकासको खोजीमा जुटेको छ । विकासलाई ६ कात्तिक २०७९ मा सत्तारुढ नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रचार समिति सदस्यमा मनोनित गरेका थिए ।प्रहरीका अनुसार, विकास बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा निकट व्यक्ति हुन् । उनकै जोडबलमा विकास गएको चुनावमा प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।काठमाडौंका एसपी ढुंगेलले पनि उनी कैद सजाय भुक्तान गरेर छुटेको व्यक्ति भएपनि पूणर् विवरण फेला परिनसकेको बताए । उनले भने, ‘क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) बाट विवरण निकाल्छौं ।’वैदेशिक रोजगारीका लागि दुबई बसेका उनी फर्किएर आएपछि सुन तस्करीमा लागेको पाइएको एक अधिकृत बताउँछन् । पछिल्लो चार वर्षयता उनको जीवनशैली आश्चर्यजनक रुपमा फेरिएको जानकारहरु बताउँछन् ।‘पहिले मोटरसाइकल चोरीमा पक्राउ परेका उनले हालै बनेपामा घर बनाएका थिए’, स्रोतले भन्यो, ‘उनको हैसियत अनौठो तरिकाले बढेको थियो ।’ उनले सामाजिक सञ्जाल टिकटकमा हालै बनेपामा भएको कन्या पूजामा पैसा बाँडेको भिडियो राखेका छन् ।काठमाडौंका एसपी ढुंगानाका अनुसार, यो समूहले मलद्वारभित्र लुकाएर दुबईबाट सुन ल्याउने गरेको थियो । ‘कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन जस्तो पहेँलो धातु फेला परेको थियो’, उनले भने, ‘पछि त्यो वस्तु सुन नै भएको पुष्टि भएको थियो ।’ बरामद सुनको तौल लिँदा ९६० ग्राम भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका बाबुलाल सामान्य पारिवारिक पृष्ठभूमिका व्यक्ति हुन् । उनी यसअघि ५ पटक दुबई गएर काठमाडौं आएको भेटिएको छ । उनीहरुले यसअघि पनि सोही शैलीबाट सुन ल्याएको हुनसक्ने देखाएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्