बिर्तामोड , भदौ २९ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् ।

५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा शुक्रवार नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शिर्षकमा गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १०मा अध्ययनरत छात्रा आचार्य प्रथम भएकी हुन् । प्रतियोगितामा तक्षशिला स्कुल कक्षा ९ की छात्रा निज्रा मेचे द्वितीय, कोहेड कलेज कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतीय र ईडेन गार्डेन आवासीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहोरा सान्त्वना भएका छन् ।

प्रतियोगिताका विजेताहरुले क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । विजेताहरुलाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकास शाखा प्रमुख यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्कीलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सीता ढुङ्गाना, शर्मिला राजवंशी र लक्षिमा खतिवडाको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले सुनिश्चित भविष्य निर्माणको लागि राज्यले शिक्षामा ध्यान दिनु पर्ने बताए । उनले कक्षा १२ उत्तीर्ण हुनेवित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशिने गरेको भन्दै यो देशका लागि दुर्भाग्य भएको धारणा राखे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्