झापा, भदौ २९ । अन्तर्राष्ट्रिय झापाली समाजको राष्ट्रिय समिति झापाली समाज यु.एस.ए.ले नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

अन्तर्राष्ट्रिय झापाली समाज यु.एस.ए.का महासचिव नबिन पोखरेलको पहलमा नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखालाई प्राप्त सो एम्बुलेन्सको चाबी कार्यक्रमका प्रमुख अतिथि सांसद विश्वप्रकाश शर्माले रेडक्रस उपशाखा सभापति सुन्दरलाल गणेशलाई हस्तान्तरण गरेका थिए ।
साझेदारीमा खरिद गरिएको सो एम्बुलेन्सका लागि झापाली समाज यू.एस.ए.को ९ लाख ९४ हजार ७३५ ,झापा गाउँपालिकाको ३ लाख ५० हजार र रेडक्रस कुमरखोद उपशाखाको ७ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । करिव २ बर्ष अगाडी प्रतिबद्धता गरिएको उक्त एम्बुलेन्स नेपाल सरकारको केही परिवर्तित नियमका कारण ल्याउन ढिलाइ भएको अन्तर्राष्ट्रिय झापाली समाज यु.एस.ए.का महासचिव पोखरेलले बताए ।
कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेशको अध्यक्षता तथा सांसद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद लख्खीकुमारी गणेश ,नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवे ,झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नवीन पोख्रेल,नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायत रेडक्रसका बिभिन्न उपशाखाका सभापति र बिभिन्न राजनीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।
यस्तै गत वर्ष करिव ६५ लाख रुपैयाँको चन्दा र पालिकाको सहयोगबाट निर्मित रेडक्रस कुमरखोद उपशाखाको भवन पनि सोही अवसरमा उद्घाटन गरिएको छ ।