झापा, भदौ ३० । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ। 

धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो। हत्या गरिएकामध्ये तीनजना एकै परिवारका हुन्।

गैह्रीगाउँमा रहेको दिव्य सः मिलभित्र शुक्रबार राति ११:५५ बजे उनीहरूको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, श्रीमती ५२ वर्षीया अम्बिका र कुमारकी आमा करिब ७६ वर्षीया सुमित्राको हत्या भएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए। यस्तै मोरङ बेलबारी घर भएका अन्दाजी २१ वर्षका नविन राईको पनि हत्या भएको हो।उनीहरूको शरीरका विभिन्न भागमा हतियार प्रयोग गरिएको पाइएको छ।

हत्याको आशंकामा अन्दाजी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको थापाले बताए। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।  अनुसन्धानका लागि नेपाल प्रहरीको केनाइन महाशाखाबाट ‘ट्र्याकर’ कुकुर पनि लगिएको प्रवक्ता मैनालीले बताए।  मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

सःमिल दोलखा, कालिञ्चोक गाउँपालिका– ८ घर भई काठमाडौंको गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्