झापा, भदौ ३० । झापाको बिर्तामोडमा पहिचानवादीहरुले घरेलु हतियार लठ्ठीसहित युवा दस्ता घोषणा गर्ने तयारी गरिरहँदा त्यसलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले बिर्तामोडमा १५०१ जनाको युवा दस्ता घोषणा गर्न लागेको आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीले बताए । युवा दस्ता घोषणाका लागि धेरै संख्यामा पहिचानवादीहरु सिटी सेन्टरको साई पार्टी प्यालेसमा भेला भएका छन् । उनीहरुको लागि एक गाडी हरिया बाँसको लठ्ठी ल्याइएको छ । को २ च ७७८ नं को क्यारियरमा उनीहरुले हरिया बाँसको लठ्ठी ल्याएका हुन् । त्यस्तै युवा दस्ताका लागि एक गाडी जर्सी ल्याइएको छ ।

सिटी सेन्टरमा युवा दस्ता घोषणा गरेर बिर्तामोडको मुक्ति चोकमा मार्चपास गर्ने कार्यक्रम रहेको छ । शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारलाई सम्मान गर्दै घरेलु हतियारको रुपमा रहेको लठ्ठी प्रदर्शन गर्न नदिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । यसअघि भदौ २६ गते पहिचानवादीहरुले हल्दिवारीमा १०१ जनाको हतियारधारी युवा दस्ता गठन गरेका थिए । हतियारधारी युवा दस्ताको मार्चपास कार्यक्रमलाई रोक्न ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्