झापा, भदौ ३० । कोशी नाम खारेजीको आन्दोलन जारी राखेका पहिचानवादीहरुले बिर्तामोडमा युवा दस्ता घोषणा गरेका छन् ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले एक कार्यक्रम गरी १५०१ जनाको युवा दस्ता घोषणा गरेको हो । जसको संयोजकमा सामी पालुङ्वा , सहसंयोजकमा सुमन सम्बाहाम्फे , सदस्य सचिवमा गौरीमान राई र सहसंयोजकमा कर्ण राजवंशी रहेका छन् । बिर्तामोडको सिटी सेन्टरमा युवा दस्ता गठन भएको घोषणापछि घरेलु हतियार लठ्ठीसहितको जर्सीधारी युवाहरुलाई बिर्तामोडमा मार्चपास गराईएको थियो । कोशी प्रदेश खारेजीको नारामा हातमा लठ्ठी उचाल्दै उनीहरुले मार्चपास गरेका थिए ।

मार्चपासपछि बिर्तामोडको अधुवा पुलनजिक कोणसभा गरिएको थियो । सभामा विभिन्न जातीय संस्थाका अगुवाहरुले बोलेका थिए । यसअघि ठूलो संख्यामा तैनाथ प्रहरीले लठ्ठीसहित मार्चपास गर्न नदिने बताएकोमा पछि लठ्ठीसहित नै मार्चपास गर्न दिएको थियो । यसअघि भदौ २६ गते पहिचानवादीहरुले हल्दिवारीमा १०१ जनाको युवा दस्ता गठन गरेका थिए ।कोशी प्रदेशको चारवटा जिल्लामा पहिचानवादीहरुले युवा दस्ता गठन गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्