झापा, भदौ ३१ । नेपाल चिकित्सक संघले आज देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्णरुपमा बन्द गरिने जनाएको छ ।

चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सन्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन नदिने जनाएका हुन् । चिकित्सकहरुले भदौ २७ गते सन्चो अस्पताल हेटौंडामा डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरु अबिलम्ब पत्ता लगाई फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।

‘चिकित्सकलाई हमला गर्ने ४ जना मात्र समातिएका छन्, जबकि हमला गर्ने १८ जनाभन्दा बढी थिए, अझ बाहिर रहेकाहरुलाई पनि हेर्ने हो भने २० देखि २५ जनासम्म आक्रमणकारी थिए’, महासचिव डा. तिवारीले भने, ‘देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्यरुपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहीत वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था तुरुन्त मिलाउनु पर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्