झापा, भदौ ३१ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहुँचलाई थप जनतामाझ पुर्याउने उद्देश्यका साथ उदयपुरमा शाखा विस्तार गरेको छ ।

एक्सेलले ४५ औं शाखाको रुपमा उदयपुरको बेलका नगरपालिका वडा नं ९ अन्तर्गत रामपुर बजारमा नयाँ शाखा विस्तार गरेको हो । उक्त रामपुर शाखाको प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले आज उद्घाटन गरे । आर्थिक र व्यापारिक दृष्टिकोणले तीब्र रुपमा विस्तार हुँदै गएको रामपुर बजारमा ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकताबमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गरिने बैंकले जनाएको छ । साथै उनीहरुकै रोजाइको माध्यम अर्थात ABBS, C-ASBA, IPS, Connect IPS, Online Clearing, QR Code तथा स्मार्ट मोवाईल बैंकिङ (Smart Mobile Banking), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको Visa Debit Card, रेमिटान्स सेवालगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय रामपुरबाट प्रदान गरिने बैंकले जनाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लि.का संस्थापक डा. रुपकप्रसाद खनालको अध्यक्षतामा सम्पन्न शाखा उद्घाटन कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।त्यस्तै बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि बेलका नगरपालिकाका प्रमुख अशोक कार्की ,स्थानीय समाजसेवी देवनारायण चौधरी, उद्योग वाणिज्य संघ बेलका नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तीर्थ पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा रामपुर बजारको सरसफाईमा सहयोग पुर्याउने उद्धेश्यले बैंकबाट ११ थान डष्टविन र स्थानीय २५ जना सवारी चालकहरुलाई रिफ्लेक्टिभ ट्राफिक ज्याकेट उपलव्ध गराईएको थियो । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु १० अर्व ८० करोड रहेको छ भने निक्षेप संकलन लगभग रु १३ अर्व ७१ करोड गरेको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरुमार्फत ग्राहकहरुसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने कोशी प्रदेश कार्यक्षेत्र रहेको यस बैंकले आगामी दिनहरुमा प्रदेशभर आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यका साथ कार्य योजना अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्