झापा, भदौ ३१ ।यसै महिना स्थापना भएको सहयोगी नेपाल नामक संस्थाको सहयोगमा २१ जना विद्यार्थीहरुले सीटीइभीटीमा नाम निकाल्न सफल भएका छन् ।

सीटीइभीटी अध्ययनका लागि नाम निकाल्न सफल विद्यार्थी र तिनका अभिभावकहरुलाई संस्थाले आज एक कार्यक्रम गरी सम्मान गरेको छ । सीटीइभीटीद्वारा संचालित डिप्लोमा तथा प्रि–डप्लोमा तहका वर्गीकृत कोटा, विशेष छात्रवृत्ति कोटा र पूर्ण शुल्कीय कोटामा ती प्रशिक्षार्थीहरु उत्तीर्ण भएका हुन् । उनीहरु झापा , मोरङ, इलाम, ताप्लेजुङ र उदयपुरका रहेका छन् ।

मेचीनगर १३ चारआलीस्थित आफ्नै कार्यालयमा आज कार्यक्रम गरी संस्थाले ती उत्तीर्ण प्रशिक्षार्थी र उनीहरुका अभिभावकहरुलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष डी.एल. राजवंशीले सीटीइभीटीमा अध्ययन गर्नका लागि ती प्रशिक्षार्थीहरुलाई गाइडलाइन दिइएको बताए । आर्थिक रुपमा विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि आफूहरुले सहयोग गरेको उनले बताए । संस्थाका अध्यक्ष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले प्राविधिक शिक्षा जीवन उपयोगी शिक्षा भएकोले यसबाट आत्मनिर्भर बन्न सकिने बताए । अरुले गाइडलाइन मात्रै गर्ने हो , विद्यार्थीले आफ्नो भविष्य आफै बनाउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल ,गैरसरकारी संस्था महासंघका कोशी प्रदेश इन्चार्ज छविलाल खतिवडा , जिल्ला समन्वय समितिका सदस्यहरु जलाल अली , जुनु महरा, गैरसरकारी संस्था महासंघ झापाका सचिव विजय तिम्सिना , स्थानीय समाजसेवी रमेश बराललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन भीमा पासवानले गरेकी थिइन् ।

सामाजिक कार्य गर्ने उद्धेश्यले सहयोगी नेपाल नामक संस्था गत भदौ ११ गते स्थापना भएको हो । सो संस्था भदौ १८ गते समाज कल्याण परिषदमा दर्ता भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्