झापा , भदौ ३१ । महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज पार्न जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबारदेखि लागू हुनेगरी विराटनगरमा दुई महिना निषेधाज्ञाको आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार त्यस्तो सूचना जारी गरेका हुन् ।
महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना , जुलुस ‚ प्रदर्शनलाई निस्तेज गर्न असोज २ गते बिहान ६ बजेदेखि दुई महिनाका लागि विराटनगरमा निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । स्थानीय प्रशासनको निषेधाज्ञाका कारण यो अवधिमा पर्ने कुनै पनि चाडपर्व महानगरवासीले निषेधाज्ञाको घेरामा रहेर मनाउनु पर्ने भएको छ ।

पहिचानवादी र जनता समाजवादी पार्टीको सम्भावित आन्दोलन, धर्ना र जुलुसलाई मध्यनजर गर्दै महानगरका निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवको प्रस्टीकरण छ । विगतमा पनि महानगरका निश्चित स्थानमा अघोषितरुपमा निषेधाज्ञा थियो । यसपालि ती स्थानमा समयावधि घोषणा गरेर निषेधाज्ञा जारी गरिएको हो ।

यसले समूहगत रुपका बाधा विरोधका गतिविधिबाहेक जनताको दैनिक जनजीवनमा कुनै पनि प्रभाव नपार्ने प्रजिअ यादवले बताएका छन् । असोज २ गते पहिचानवादीको प्रदेश नामकरण संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेज माग गर्दै मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको थियो ।
विराटनगर महानगरको नगर सुरक्षाकर्मीले जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई दुव्र्यवहार गरेका थिए । घटनाविरुद्ध उक्त पार्टीका कार्यकर्ताले पनि प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसले पनि अवस्था अशान्त हुनसक्ने आकलन स्थानीय प्रशासनको छ ।

प्रशासनले महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयदेखि तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । उक्त स्थानमा सर्वसाधारण र सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमका सभा, जुलुस, भेला र र्याली निकाल्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्