झापा,असोज२।किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनले भने, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।”गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको भनाइ छ । उनका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको बताए ।सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।मन्त्रालयले सवै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्