झापा, असोज २ । पत्नीको हत्या गरेको आरोपमा सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ ।

भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षिया निकिता चौधरी (सुष्मा) सँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजो लिएर विवाह गरेका थिए ।

उनले थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि नगेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए । घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि वास्तविकता खुल्ने रेग्मीको भनाइ छ । शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिएको थियो ।
निकिताको ११ महिनाको छोरा छन् । त्यो नाति हेर्न उनकी आमा सरिताले गत शनिबार राति साढे नौ बजे भिडियोकलमा कुरा गरेकी थिइन् । भिडियोकलमा कुरा गर्दा निकिताले ज्वाइँसँग दाइजोको निहुँमा आफ्नो झगडा भइरहेको सुनाउँदै आइतबार बिहान माइत आउने बताएकी थिइन् ।

सरिताले भनिन् ‘त्यसबेला ज्वाइँले निकितालाई दाइजोको कुरा निकालेर हप्कीदप्की गर्दै थिए । उनले माइत आउन निकितालाई ४ हजारको सारी किनेका रहेछन् । त्यो सारी देखाउँदै ’तेरा बाउ’ ले चार हजारको सारी अहिलेसम्म देखेको छ भन्दै कराउँदै थिए । भनेअनुसारको काम नगरे निकिताको नाम नै मेटाइदिने धम्की दिँदै थिए ।’ सरिताले भने भोलि छोरी आइहाल्छे भन्ठानेर फोन राखेकी थिइन् । त्यसको डेढ घण्टापछि नगेन्द्रका आफन्त कसैले निकिताले झुन्डिएर आत्महत्या गरेको र कसैले बाथरुममा लडेर मृत्यु भएको विरोधाभासपूर्ण खबर पठाएका थिए ।

शनिबार राति टाउको र अनुहारबाट रगत बग्दै गरेको अवस्थामा नगेन्द्रका आफन्तले निकिताको उपचारका लागि इनरुवा अस्पतालमा लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको भन्दै विराटनगर रिफर गरेको थियो । त्यसपछि उनीहरूले विराटनगरको विराट शिक्षण अस्पताल ल्याएका थिए । स्थानीयका अनुसार शिक्षण अस्पताल ल्याएको केही समयपछि चिकित्सकले निकितालाई मृत घोषणा गरेका थिए ।

निकिताका बुबा विष्णुका अनुसार विवाह भएको केही महिनापछिदेखि नै नगेन्द्रले निकितालई थप दाइजोका नाममा मानसिक र शारीरिक यातना दिँदै आएका थिए । दाइजोकै निहुँमा निकिताको हत्या भएको विष्णुको दाबी छ । उनैले प्रहरीसमक्ष किटानी जाहेरी दिएका हुन् । उनका अनुसार निकिताको टाउको, अनुहार र घाँटीमा गहिरो चोट लागेको थियो ।

विष्णुका अनुसार विवाहमा नगेन्द्रलाई आफूले ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल दिएर उतापट्टिको सबै विवाह खर्च समेत आफैंले बेहोरेका थिए । पछिल्लो पटक उनले स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो माग्दै आएका थिए । थप दाइजोका नाममा त्यत्रो रकम बुबा–आमाले दिन नसक्ने निकिताले जवाफ दिँदै आएकी थिइन् । नगेन्द्रले निकितासँग विवाह गर्न इनरुवा नगरपालिकाको विद्युत् शाखाको इन्जिनियर भएको र आफ्नो जागिर स्थायी भएको बताएका थिए । विवाहपछि उनी इन्जिनियर नभई विद्युत्को पोलमेन भएको र उनको जागिर स्थायी नभई करार सेवा भएको र नगरपालिकाले करार नवीकरण नगर्दा जागिर गएको भन्ने पोल खुलेपछि निकितासँग झगडा सुरु भएको विष्णुको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्