झापा , असोज २ । भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीले पाएका छन् ।

भद्रपुर नगरपालिकाले अभिभावकत्व लिन चाहनेहरुको निवेदनउपर छलफल गरी विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई सो बच्चाको अभिभावकत्व दिने निर्णय गरेको हो ।

अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन दिएका थिए । इलाम २ का मनकुमार तामाङ र नानु तामाङ , भद्रपुर १ का पर्शुराम लुइटेल र इश्वरादेवी बिमली , अर्जुनधारा ६ का खगेन्द्रराज खरेल र गीता अधिकारी खरेल तथा भद्रपुर ४ का सन्तोष बस्नेत र मिना दाहाल बस्नेतले अभिभावकत्व लिनका लागि निवेदन दिएका थिए । नगरपालिकाले गत भदौ २४ गते एक सूचना जारी गरी अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो ।

हकदावीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दावी गर्न आमाबुवा नआएपछि नगरपालिकाले अरुलाई अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो । त्यसअन्तर्गत नगरपालिकाबाट बालकको वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आउन सात दिने सूचना जारी भएको थियो । ती बालकको पालनपोषण, स्वास्थ्य उपचार, शिक्षा तथा बालकको उच्चतम हित सुनिश्चित हुने समेतका कार्यहरुमा अहित नहुने गरि वैकल्पिक हेरचाह गर्न चाहने बालकको आमा वा बुबातर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखि बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ४९ (२) र नियमावली २०७८ को नियम ५३ (५) बमोजिम सात दिनभित्र निवेदन पेश गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।

त्यसका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,. संस्था वा बालगृहको हकमा संस्था दर्ता प्रमाणपत्र समेतका आवश्यक कागजातहरु , वैकल्पिक हेरचाह गर्न चाहने व्यक्तिको शैक्षिक र आर्थिक हैसियत खुल्ने कागजात , घरेलु हिंसा, बालबालिका विरुद्धको कसुर तथा फौजदारी अभियोगमा सजाय नपाएको, चालचलन प्रमाणपत्रको कागजात , वैकल्पिक हेरचाह गर्ने व्यक्तिले बालकलाई ईज्जत आमद अनुसार खान लाउन, स्वास्थ्य उपचार, समेतको प्रबन्ध गर्न सक्ने स्थानीय तहको सिफारिस , शिक्षा,शारीरिक, मानसिक रुपमा बालकलाई हेरचाह गर्न सक्ने, लागूपदार्थ समेतको दुर्व्यसन तथा कुलतमा नफसेको प्रतिष्ठित व्यक्ति भनी सम्बन्धित नगरपालिका वा गाउँपालिकाको वडा कार्यालयको सिफारिस माग गरिएको थियो ।

गत भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं. ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा बेवारिसे अवस्थामा ती शिशु फेला परेका थिए । ती शिशुलाई अभिभावकत्व लिन डाक्टर , इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायी , राजनीतिकर्मीलगायत गरी करिव सयजना इच्छुक देखिएपनि पाँच दम्पतीले मात्र सूचीकृत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्