झापा, असोज ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता बहिस्कार गरी शिक्षकहरुले आजदेखि देशभरका विद्यालय बन्द गरेका छन् ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर्नासाथ शिक्षकहरूले पठनपाठन नै अवरुद्ध हुने गरी आन्दोलनमा उत्रिएका हुन् ।
विधेयकका कतिपय प्रावधानमा विरोध जनाउँदै काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहेको नेपाल शिक्षक महासंघले विद्यालय बन्द गरी देशभरिका शिक्षकलाई राजधानी लगेको छ । सरकारी र निजी विद्यालयका शिक्षकहरूको साझा संस्था शिक्षक महासंघको आह्वानका कारण विद्यालय बन्द भएको हो । जसका कारण देशभरका करिब ३० हजार विद्यालय ठप्प भएको छ भने करिब ७० लाख बालबालिकाको पढाइ बिथोलिएको छ ।

बुधबारबाट आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर मंगलवार दिउँसो ३ बजे वार्तामा आउन महासंघलाई अपिल गरेपनि शिक्षकहरु वार्तामा नगएका हुन्।

संसदमा शिक्षासम्बन्धी विधेयक दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने भएको वार्तामा नगएको शिक्षक महासंघको भनाई छ। शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी मन्त्रालयले आह्वान गरेपनि उनीहरू अनुपस्थित भएका हुन्।

शिक्षा विधेयकमा असहमति जनाउँदै काठमाडौं केन्द्रित विरोधका कार्यक्रम घोषणा गरेका शिक्षकहरु काठमाडौं गएका छन्। महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने बताएका छन्।

महासंघले घोषित १८ बुँदा संशोधन नभएसम्म देशैभरका करिब १ लाख १० हजार शिक्षकले राजधानी नछाड्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्