झापा, असोज ५ । बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधारगृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रवक्ता नारायण डाँगीले बताए । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधारगृहमा राखिएको प्रहरीले जनाएको छ ।

समूह–समूह बनाएर भिड्नेमध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको कारागार प्रमुख विमला काउचाले बताइन् । २५५ थुनुवा रहेको उक्त बाल सुधारगृहबाट ९ जना सम्पर्कविहीन भएका छन् ।
बाल सुधारगृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुले बेलाबेला प्रहरी इन्जार्जलाई पिट्ने गरेको बाल सुधारगृह स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्