झापा, असोज ५ । बिनाअनुमति वा बिनासंझौता सूचना प्रकाशन र प्रसारण गरी संचारकर्मीहरुले विल लगेर हैरान पारेपछि हल्दिवारी गाउँपालिकाले त्यस्ता बिलको भुक्तानी गर्न नसक्ने जनाएको छ ।

गाउँपालिकाको स्वीकृति नलिई पत्रकारहरुले आफै प्रकाशन र प्रसारण गरी गाउँपालिकासंग बिल भरपाई पेश गर्ने प्रवृत्ति बढेपछि हल्दिवारी गाउँपालिकाले सूचना नै जारी गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले यस कार्यालयको नाममा विगत वर्षहरुमा विभिन्न संचारमाध्यमहरुबाट शुभकामना सन्देश, सूचनालगायतका सामग्रीहरु यस गाउँपालिकाको स्वीकृति नलिई स्वतः प्रकाशन तथा प्रसारण गरी गाउँपालिकासँग बिल भरपाई पेश गर्ने र आर्थिक वर्षको अन्त्यमा रकम अभावका कारण सोको भुक्तानी दिन नसक्दा असहज परिस्थिति सृजना भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको जनाएका छन् । यो सूचनालाई दृष्टिगत गरी अब उप्रान्त संचार सामग्री प्रकाशन, प्रसारणजस्ता कार्यहरु सम्झौता वा लिखित अनुमति प्राप्त गरेर मात्र गर्नु गराउनुहुन उनले सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

साथै यो सूचनालाई बेवास्ता गरी बिना लिखित अनुमति वा बिनासम्झौता यस्ता सामग्री प्रकाशन तथा प्रसारण गरेमा गाउँपालिकाको कार्यालय सो को बिल भुक्तानी दिन बाध्य नहुने व्यहोरा समेत उनले सूचनामार्फत अवगत गराएका छन् ।

गाउँपालिका कार्यालयले बिनाअनुमतिका करिव ३ लाख रुपैयाँको सूचनाको बिल भुक्तानी नदिएको गाउँपालिकाका सूचना अधिकारी सुशिल कडरियाले बताए । उनले आफूखुशी सूचना छापेर सुदूरपश्चिम क्षेत्रका पत्रकारहरुले समेत हुलाकमार्फत बिल पठाइदिने गरेको प्रवृत्ति सुनाए । झापाका पत्रकारहरुले पनि आफूखुशी शुभकामना र लोक कल्याणकारी सूचना छापेर ल्याउँदा आर्थिक वर्षको अन्त्यमा २० हजारको बिलमा ४ हजारको दरले मात्र भुक्तानी दिएको उनले जानकारी दिए । हल्दिवारी गाउँपालिकाले गत वर्ष संचारको शिर्षकमा १० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्