बिर्तामोड, असोज ५ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभाग नेपालले बिर्तामोडमा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय अभियानका रुपमा सडक सुरक्षा,जीवन रक्षा कार्यक्रम चलाउँदै आएको राजयोग सेवा केन्द्रले शुक्रबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सवारी दुर्घटना मुख्य चुनौती रहेको बताइन् । साँघुरो,अव्यवस्थित सडक र द्रुत गतिका कारण बढी दुर्घटना हुने गरेको भन्दै उनले ख्याल गरेर सवारी कुदाउन सबैलाई आग्रह गरिन् ।
नगर प्रमुख प्रसाईले बिर्तामोड बसपार्कलाई व्यवस्थित गर्नका लागि सम्बन्धित निकायसंग छलफल भईरहेको जानकारीसमेत दिइन्। उनले राजयोग केन्द्रले सुरु गरेको यो अभियान सह्रानीय रहेको भन्दै सफलताको शुभकामना दिइन् ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै सचेत हुनु पर्ने बताए । दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको भन्दै उनले ट्राफिक नियमको पालना गर्न आग्रह गरे । ट्राफिक प्रमुख न्यौपानेका अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म झापामा १ सय ४४ वटा दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ५१ जना घाईते भएका छन् ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजयोग अन्तर्राष्ट्रिय केन्द्रका प्रशिक्षक तथा मधुवन ब्रह्माकुमारी मिडिया प्रभाग मधुवनका रामस्वरुप भाईजीले चालक अनुशासित भए दुर्घटना कम हुने बताए । उनले ज्ञान कम भएका कारण पनि सवारी दुर्घटना बढी हुने गरेको धारणा राखे ।

यस्तै कार्यक्रममा बोल्दै ब्रह्मकुमार गुणराज लामिछानेले विद्यालय स्तरमा दुर्घटना न्यूनीकरणको शिक्षा दिन सकियो भने सकारात्मक सन्देश जाने बताए । उनले यो अभियान राष्ट्रव्यापी रहेको पनि जानकारी दिए ।
कार्यक्रम राजयोगी ब्रह्माकुमारी रबिना दिदीको सभापतित्वमा सम्पन्न भएको हो। सडक सुरक्षा,जीवन रक्षा अभियान असोज ३ गतेदेखि राष्ट्रव्यापीरुपमा सुरु भएको जनाईएको छ। कार्यक्रमको संचालन तुलसी भाईजीले गरेका थिए ।

सोही कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा भर्खरै सरुवा भएर आएका ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेलाई स्वागत गरिएको थियो । नगर प्रमुख प्रसाईले उनलाई खादा लगाइदिएर स्वागत गरिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्