झापा,असोज ८ । चामलको बोराभित्र लुकाएर काठमाडौं पठाउन लागेको लागूऔषध ब्राउनसुगरसहित दुई युवा दुधेमा पक्राउ परेका छन् ।

आज साँझ ५.१० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधेस्थित साकिरा यातायात प्रा.लि.को काउन्टरमा प्र.१–०१–०१३ प ६५८१ नम्बरको स्कुटीमा काठमाण्डौ पठाउन भनी चामलको बोरा बोकी आएका वडा नं.१ बस्ने अन्दाजी २९ वर्षिय साजन राई र सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षिय सुन्दर लावतीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त चामलको बोराभित्र लुकाई छिपाई पठाउन लागेको ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

स्कुटीसहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

त्यसैगरी आज साँझ ६ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका वडा नं. ६ बस्ने २० वर्षिय सुजन बिश्वकर्मालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई पनि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्