इटहरी, असोज ९ ।जनता समाजवादी पार्टी, नेपाल प्रदेश नम्बर १ समितिले पार्टी सुदृढीकरणको लागि घोषित तीन महिने अभियान सम्पन्न गर्न जिम्मेवारी तोकेको छ ।


जसपा नेपाल प्रदेश १ समितिको असोज ७ गते सम्पन्न बैठकले पार्टीले घोषणा गरेको ३ महिने पार्टी सुदृढीकरण अभियान सम्पन्न गर्न १३७ वटा पालिकाभरि नेताहरु खटाउने निर्णय गरेको हो । जसपा केन्द्रीय समितिले भदौ महिनादेखि सुरु भएर कार्तिक मसान्तमा सम्पन्न हुनेगरी तीन महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन क्षेत्रका आधारमा पार्टीका नेताहरुलाई सिङ्गो जिल्ला वा निर्वाचन क्षेत्रको जिम्मेवारी तोकिएको जसपा नेपाल प्रदेश १ अध्यक्ष दिपक याक्खाले जानकारी दिए । ‘बढी जनसंख्या भएका झापा, मोरङ, सुनसरीका विभिन्न पालिकाहरुमा दुईदेखि पाँच जनासम्म प्रदेश नेताहरुलाई जिम्मेवारी दिएका छौं’, याक्खाले भने ।
तीन महिने अभियानमा नेताहरुले आ–आफ्नो जिम्मेवारी रहेको भूगोलमा पार्टी सदस्यता नवीकरण÷वितरण, संगठन विस्तार, पार्टीका तहगत समितिहरुको गठन वा पुनर्गठन र सुदृढीकरण कार्य गर्नुपर्ने बताइएको छ ।

पार्टी कार्यालय समिति र इन्चार्ज तोकियो
यसैबीच सोही बैठकले जसपा प्रदेश पार्टी कार्यालय समिति गठन गरेको छ । मुख्य सचिव घनश्याम कटुवाल प्रमुख रहेको सो समितिको सदस्यहरुमा घनराज सुब्बा, आइत चेम्जोङ, टंक मोक्तान र मनोज यादव छन् ।
त्यसैगरी समाजवादी विद्यार्थी इन्चार्जमा भरत याक्खा र सह–इन्चार्ज आइत चेम्जोङलाई तोकिएको छ भने समाजवादी महिला इन्चार्जमा शर्मिला आङ्देम्बे र युवा इन्चार्जमा गौरीमान राई र सह–इन्चार्जमा मनकला लिम्बूलाई जिम्मेवारी तोकिएको प्रदेश सचिव हस्त शोभा राईले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्