झापा , असोज १२ । जंगलमा डेटिङमा जाँदा फेला परेका अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र महिला कर्मचारीमाथि कार्वाही हुने भएको छ ।

नगरमा कार्यरत सिनियर अहेब बस्नेतलाई नगरकै अस्पतालमा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले नै जंगलमा भेटेकी थिइन् । सो घटना सार्वजनिक भएपछि अर्जुनधारा नगरपालिकाको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठक बस्दैछ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बस्नेत र अस्पतालकी एक महिला कर्मचारीसँगको भिडियो सार्वजनिक भएसँगै आकस्मिक बैठक बोलाइएको हो । घटना सार्वजनिक भएपछि नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको हो ।

नगर प्रमुख गोम्देनले घटना पुष्टि भए संलग्न दुवैलाई कार्वाही हुने बताए । उनले बैठक बसेर त्यसबारे निर्णय गरिने जानकारी दिए । हिजो बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाहा पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछिको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । अस्पतालमा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा बस्नेतकी श्रीमतीले उनलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ । घटना सार्वजनिक भएसँगै नगरपालिका, स्वास्थ्य शाखा, शनिश्चरे अस्पताल र स्वास्थ्यकर्मीको सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्