झापा,असोज१२। चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । अन्य सामान्य गेमभन्दा फरक शैलीको यस खेलमा सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो । यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरियो ।यसअघि पहिलो चरणमा नेपाल आफ्नो समूहमा दोस्रो भएको थियो । तर दोस्रो हुनेमध्येबाट पनि उत्कृष्ट बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।यस्तै शुक्रबारै भएको एलिमिनेसन अन्तर्गत समूह ए बाट दक्षिण कोरिया र थाइल्याण्ड, समूह बी बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह डी बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन् ।अब यी आठ टोलीलाई सेमिफाइनलमा चार-चार टोलीको दुई समूहमा विधाजन गरेर खेलाइनेछ । सेमिफाइनलमा दुवै समूहको शीर्ष दुई स्थानमा रहने दुई-दुई टोली फाइनल चरणमा पुग्नेछन् । फाइनल चरणमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष तीन टोलीले पदक पक्का गर्नेछन् ।नेपाल सेमिफाइनलमा आफ्नो समूहमा शीर्ष दुई स्थानमा रहे फाइनल पुग्नेछ र त्यसमा शीर्ष तीनमा रहेमा पदक पक्का गर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्