झापा, असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्।

चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ कुरा गर्दै परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए।

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उनले भने।
यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए। आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए।
चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्