झापा, असोज १५ । बिर्तामोडमा दुईवटा मोटरसाइकल चोरी भएको छ । चोरिएको एउटा मोटरसाइकलसहित दुईजना भद्रपुरमा पक्राउ परेका छन् ।

बिर्तामोड– ४ स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको कार्यालय अगाडिबाट मोटरसाइकल चोरी भएको हो । हिजो बिहान १०.३० बजे कार्यालय अगाडिको पार्किङस्थलबाट मे ०१ –०१४प ८५४८ नं. को मोटरसाइकल चोरी भएको हो । कालो भेस्ट र जिन्स पाइन्ट लगाएका युवकले शिखर साकोसका कर्मचारी भानु आचार्यको मोटरसाइकल चोरी गरेको कार्यालयको सिसिटिभी फुटेजमा कैद भएको छ ।

यसैबीच मोटरसाइकल चोरी गरी लैजादै गर्दा भद्रपुरमा दुईजना पक्राउ परेका छन् ।आज बिहान ७.३० बजेको समयमा भद्रपुर नगरपालिका –४ तारानगरमा प्रहरी चौकी महेशपुरको टोलीले मे ११ प ४३०७ नं.को सेतो कालो रङको एफजेड मोटरसाइकल डोर्याउँदै लैजादै गरेको अबस्थामा फेला पारी शंका लागेर उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धानको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याईएको थियो ।
पक्राउ परेका साविक चकचकी–८, हाल बाह्रदशी गाउँपालिका –२ बस्ने ३५ वर्षिय जफिर आलम र भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षिय मोहम्मद जुबेरलाई सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त मोटरसाइकल आज बिहान ४ बजेतिर बिर्तामोड ४ मेघावारीबाट चोरी गरी लगेको खुलेको हो ।
ईलाम देउमाई नगरपालिका –३ बस्ने ताराकुमार राईका छोरा २० वर्षिय निश्चल राईको डेरा रहेको बिर्तामोड .–४ मेघावारीबाट उनीहरुले मोटरसाइकल चोरी गरी लगेको खुल्न आएकोले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।