झापा,असोज१६। ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति भने निराशाजन रहेको छ ।पाथीभरा जाने बाटोको गुप्ते क्षेत्रमा निर्माण कम्पनीका आवश्यक उपकरण खिया लागेर बेवारिसेजस्तै बनेको छ । पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीको सास्ती उस्तै छ । कालोपत्र हुने सडको स्तरोन्नति खासै भएको देखिँदैन । ठेक्का सम्झौता समयावधि सकिन अब आठ महिना मात्र छ, तर अहिलेसम्म प्रगति भने ११ प्रतिशतमात्र भएको जनाइएको छ । दुई वर्ष छ महिनामा सक्ने गरी काठमाडौँको कन्टेक प्रालिले कालोपत्रको ठेक्का लिएको थियो ।सो कम्पनीसँग २०७८ पुस ११ गते सुकेटारबाट काफ्लेपाटीसम्मको १० किलोमिटर कालोपत्र गर्ने ठेक्का सम्झौता भएको थियो । रु ९५ करोडको ठेक्का खुलेकामा कन्टेकले रु ४१ करोड ७६ लाख ४७ हजार अर्थात् ४६ प्रतिशत घटीमा ठेक्का पारेको थियो । २०८१ को जेठ मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । सोअनुसार हालसम्म करिब ७० प्रतिशत काम सकिसक्नुपर्नेमा ११ प्रतिशत पनि नभएको ताप्लेजुङ उत्तर-दक्षिण ओलाङचुङगोला सडकका सबइन्जिनीयर यहोसु लिम्बूले बताए ।कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको उनले बताउए । सडकको काम समयमै सकिने सम्भावना ज्यादै न्यून रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्