बिर्तामोड, असोज १६ । स्थानीय तह संघर्ष समिति बिर्तामोडले नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई मागपत्र बुझाएको छ ।

समितिले आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई मागपत्र बुझाएको हो ।

मागहरुका बिषयमा प्रष्ट पार्दै स्थानीय तह संघर्ष समिति बिर्तामोडका संयोजक तेजिन्द्र तामाङले केन्द्रीय समितिको सर्कुलरअनुसार मागपत्र बझाएको जानकारी दिए ।

मागपत्र बुझ्दै नगर प्रमुख प्रसाईले कर्मचारीको मागहरुको विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताइन् ।
कर्मचारीहरुले केन्द्रीय सर्कुलरअनुसार हातमा कालो पट्टीसमेत बाँधेका छन् ।आजदेखि ३ दिनसम्म हातमा कालो पट्टी बाँधेर कामकाज गर्ने जनाईएको छ । दवावमुलक कार्यक्रमअनुसार हातमा कालो पट्टीसंगै समितिले नगरपालिकाको गेटमा मागहरु समेटिएको व्यानर पनि राखेको छ ।

संघर्ष समितिले असोज १९ गतेदेखि देशभर अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेनडाउन गर्ने जनाईएको छ ।

संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने स्थानीय तहका कर्मचारीको माग छ ।
त्यसैगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विनासहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ।

समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई पनि निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिनुपर्ने माग संघर्ष समितिको छ।

त्यसैगरी जुनसुकै तहमा वहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग अघि सारेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्