झापा,असोज१७। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका -६ लेलेपस्थित घुन्सा खोलको पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका छन् । चरनबाट फर्किएका चौँरी तर्ने क्रममा घुन्सा खोलाको फलामे झोलुङ्गे पुल भाँचिदा दर्जनौँ चौँरी घाइते भएका हुन् ।स्थानीय चौंरीपालक तेन्जिङ शेर्पाका अनुसार घुन्सा बस्तीनजिक रहेको घुन्सा खोलाको झोलुङ्गे पुल भाँचिदा चौँरीहरू खोलामा खसेर घाइते भएका हुन् । कञ्चनजङ्घा आधार शिविरअन्तर्गत खम्बाचेन, लोनाकलगायत पशु चौपाया चरन क्षेत्र (खर्क) बाट फर्किएका चौँरीहरू पुल तर्नलाई एकै पटक धेरै सङ्ख्यामा पसेका कारण फलामे झोलुङ्गे पुल भाँचिएको बताइएको छ । झोलुङ्गे पुल भाँचिएर घुन्सा खोलामा खस्दा आधा दर्जनभन्दा बढी चौँरीहरू गम्भीर घाइते भएका शेर्पाले जानकारी दिए । उनका अनुसार चौँरीका खुट्टा लगायतमा चोट लागेको छ । पुलबाट खसेर घाइते भएका चौँरीको तत्कालका लागि घरेलु उपचार गर्नुको विकल्प नरहेको भेडापालक किसान गोपाल विष्टले बताए। यता चौंरीपालन पेसामै आत्मनिर्भर बन्दैआएका किसान भने पुलबाट खसेर चौँरी घाइते भएपछि चिन्तित बनेका छन् । एउटामात्र चौँरी मरेमा ७० हजार रुपियाँ घाटा हुने उनीहरूको भनाइ छ । जिल्लाको हिमाली घुन्सालगायतका क्षेत्रमा किसानले हजारौँ चौँरी पाल्दै आएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्