झापा,असोज १७। नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको जिल्ला प्रशासन कार्यालय इलाम देशभरिका जिल्ला प्रशासन कार्यालयमध्ये चौथो भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिप्रका इलाम कार्य सम्पादन मूल्याङ्कनमा देशभरिमा चौथो भएको हो ।गृहमन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्य सम्पादन सम्झौता हुने गरेको छ । जुन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गर्दै विभिन्न सूचकको आधारमा इलाम चौथो भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल इलाम आएको छोटो समयमै जिल्ला प्रशासन कार्यालयका सेवा प्रवाहमा व्यापक सुधार आएको थियो ।प्रजिअ पोख्रेल इलाम आए पछि प्रशासनमा नागरिकले बिना झण्झट सहज रुपमा सेवा मात्र प्राप्त गरिरहेका छैनन् तल्लो स्तरका नागरिकका समस्या समेत उजागर हुन थालेका छन् ।नागरिकका विभिन्न समस्यामा प्रजिअ पोख्रेलले आफैँ सहजीकरण गरिरहेका छन् । प्रजिअ पोख्रेलले नागरिकलाई दिइने सेवामा व्यापक सुधार आउनुका साथै जिल्लाका हरेक विषयमा सहजीकरण गरीरहेको जानकारी दिए । उनले भने, ‘‘काम गर्ने इच्छा शक्ति भयो र टिम स्प्रीट मिल्यो भने जुन सुकै कार्यालयमा नागरिकले दुःख पाउनै पर्दैन ।’’प्रमुख जिल्ला अधिकारी पोख्रेल २०७९ माघ १५ गते इलाम आएपछि कार्याललाई बिचौलियारहित सेवा प्रवाहको ग्यारेन्टी, विद्युतीय फारम कार्यालयले नै निःशुल्क भरिदिने, एकै दिनमा सेवाको ग्यारेन्टि, तयारी राहदानी र राष्ट्रियपरिचय पत्र कार्ड जुनसुकै दिन वितरण हुने व्यवस्थाको सुरु भएको थियो ।उनले बिदाको दिन पनि सेवा प्रवाह गराएका थिए । पोख्रेलले नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानिको तीनवटै सेवा एकै दिनमा दिने सेवाको सुरुवात गराएका छन् ।कार्यालयमा दुई समूहमा सेवाको सञ्चालन हुने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासनमा सेवाग्राही रहेसम्म कहिलै ५ नबज्ने व्यवस्था समेत गरिएको छ । उहाँले इलाका प्रशासन र सीमा प्रशासनलाई सबै अधिकार प्रत्यायोजन गरी सेवाका लागि सदरमुकाम धाउनु नपर्ने बनाउनुभएको छ ।इलाम कारागारमा बन्दीको सहकारी पसल सञ्चालनको नौलो अभ्याससमेत प्रजिअ पोख्रेलले गरेका छन् । जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकार र प्रशासन बीच लिखित रुपमा सहभागिता मोडलको सफल अभ्यास गरेको छ । प्रजिअ पोख्रेलले बजार अनुगमनलाई तीव्रता दिएर। बजारमा सञ्चालित मेडिकल र रासायनीक मल बिक्रीवितरणको अनुगमन गरी मापदण्डविपरीत काम गर्नेलाई जरिवाना र कारवाही गराएका थिए ।उनकै कार्यकालमा रोङ गाउँपालिकामा रहेको सानो पाथीभराको विवादको दिगो समाधान गर्न कानुनी प्रक्रिया अघि बढाइएको छ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले सूचना प्रवाहलाई समेत सहज बनाएको छ । सार्वजनिक महत्त्वका हरेक विषय जिल्ला प्रशासनको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरिएको छ । गत वर्ष जिल्ला प्रशासन कार्यालय देशभरमा ३७ औं स्थानमा थियो । जिल्लाका नागरिकले समेत जिल्ला प्रशासन कार्यालय इलाम सेवा प्रवाहका हिसाबले नमुना बनेको अनुभूति गर्न थालेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्