झापा, असोज १७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामको विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको दावी गरेका छन् ।

बुधबार विराटनगरमा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित समितिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोशी नामविरुद्धको आन्दोलनमा विदेशीको लगानी रहेको दावी गरेका हुन् ।
प्रदेशको नाम कोशी राखेकोमा प्रदेशसभालाई धन्यवाद दिनुपर्ने भन्दै ओलीले विदेशीले खर्च पेलेको भरमा २–४ जना कराएर वा चार जनाले ढुंगा हानेर केही फरक नपर्ने जिकिर गरे । यसखालको आन्दोलनबाट नतर्सिन कार्यकर्तालाई आग्रह गर्दै उनले नदीको नामले सबैलाई एउटै शुत्रमा बाँधेकोले कोशी नाम दृढताका साथमा लिएर अगाडि बढ्नुपर्ने बताए । आन्दोलनमा बाहिरबाट खटाइएका केही मान्छेहरु मात्र सहभागी रहेकोले आत्तिन नपर्ने उनको भनाइ थियो ।

‘कोशी नाम दृढताका साथमा लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘कोशी प्रदेशसभालाई धन्यवाद दिनुपर्छ । यसले अत्यधिक मतका साथ कोशी प्रदेश नामकरण गर्यो । विदेशीले खर्च पेलेको भरमा दुई चार जना कराएर, चार जनाले ढुंगा हानेर केही फरक पर्दैन । बाहिरबाट खटाइएका मान्छेहरु ।’
केशी प्रदेशको गौरवलाई एकताबद्ध ढंगले अगाडि बढाउन आग्रह गर्दै ओलीले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । ‘हाम्रो देशको विकास रोक्नका लागि कुनै षड्यन्त्र भइरहेको छ, त्यसलाई परास्त गर्नुपर्छ’ उनले भने । अहिले नेपालगञ्जमा र मलंगवामा दंगा रहेको भन्दै उनले शान्ति भड्काउने प्रयासविरुद्ध उभिनुपर्ने बताए ।

कोशी प्रदेशमा २० गतेसम्ममा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने प्रसंग कोट्याउँदै ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र षड्यन्त्र भएपनि आत्तिन नपर्ने बताए । कोशी प्रदेशमा मध्यावधि भए अहिलेको भन्दा १५ सिट बढी जित्ने उनको दावी थियो ।

‘कोशी प्रदेशमा उनीहरुलाई पहिले सभामुख चाहियो । अहिले हाम्रा विरुद्ध पाएजति सबै प्रयोग गर्ने ?’ उनले भने, ‘संविधानले नदिएको अधिकार प्रयोग गरेर सभामुखलाई भोट हलाउँछन् । राजीनामा दिन लगाउँछन् । प्रदेश प्रमुखलाई संविधानविपरीत जे भन्यो त्यही गर्नुपर्छ भनेजस्तो बनाएर कारिन्दा बनाएका छन् ।’ मध्यावधि भइहाल्यो भने हाम्रो खराब हुन्छ भन्ने नठान्न आग्रह गर्दै उनले मध्यावधि भयो भने ४० सिटको ठाउँमा ५५ सिट आउने ठोकुवा गरे ।

गठबन्धन भ्रष्टाचारमा डुबेको, नयाँ भन्नेको देशमा कुनै योगदान नभएको र पहिचानको आन्दोलनले पनि आफूलाई कुनै प्रभाव नपर्ने ओलीको भनाइ थियो । ‘एमालेले नल्याए अरु कसले ल्याउँछ भोट ? भ्रष्टाचारको आहालमा डुबेको, कमिशनतन्त्र र तस्करीको घेराबन्दीमा फसेको यो गठबन्धनले बढी मत ल्याउँछ ? २÷४ जना नयाँ नयाँ नयाँ भन्छन् नयाँलाई अवसर भनेर । नयाँ भनेको के हो ? त्यसले के गरेको छ ? ७ सालको आन्दोलन गरेको हो ? ३६ सालमा आन्दोलन गरेको हो ? ३६ सालमा त तिनीहरु जन्मिएका पनि थिएनन् होला । ४६ सालको आन्दोलन गरेको हो ? केहीकेही जन्मिएका थिए होलान्,’ उनले भने, ‘अनि ०६२÷०६३ सालको आन्दोलन तिनीहरुले गरेका हुन् ? संविधान लेख्ने तिनीहरु हो ? उनीहरुले के गरे ? देशलाई के दिन्छु भन्छन् ? कुन परिवर्तनमा के गरे ? यो हिन्दी गीत त होइन नि तुम आए बहार आए भनेजस्तो । २ जना केटाकेटी हिँडे बहार आयो ? २ जना केटाकेटी बसेर सिनेमा हेरेर आनन्द लिएजस्तो होइन देश बनाउने कुरा हो । कसले दिन्छ भोट ?’

एमालेबाहेक देशमा कसैले केही नगरेको ओलीको दाबी थियो । ‘अहिले दुई वर्षमा १० किलोमिटर बाटो बनेको छैन । एमालेले दैनिक १० किलोमिटर बाटो बनाउँथ्यो,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्