मानेभञ्ज्याङ , असोज १७ । कम्व्याक जित निकाल्दै दलसिंहपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

सिङलिङ स्पोर्टिङ क्लब सिक्किमविरुद्ध ४–३ गोल अन्तरको जित निकाल्दै दलसिंहपाडा अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो हाफमा ३–१ गोल अन्तरले पछि रहेको दलसिंहपाडाले दोस्रो हाफमा ३ गोल गरेको थियो ।खेलमा अग्रता दलसिंहपाडाले लिएको थियो । ८ औ मिनेटमा पोग्बाले पहिलो गोल गरेका थिए ।

खेलमा पछि परेको अवस्था उल्ट्याउँदै १९ औ मिनेटमा रोहितले खेल बराबरी गरे । ३३ औ मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई अग्रता दिलाए । ३५ औ मिनेटमा किरणले अग्रता ३–१ बनाए । पहिलो हाफमा बनाएको अग्रता सिङलिङले जोगाउन सकेन ।

५७ औ मिनेटमा हेमराजले गोल गर्दै अन्तर कम पारे । ६३ मिनेटमा रोशनले खेल बराबरीमा ल्याए । खेल सकिन २ मिनेट बाँकी रहँदा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा प्रवेश गराए । जितसंगै दलसिंहपाडाले सेमिफाइनल प्रवेशका लागि बिएसके जलपाइगुडीसंग खेल्नेछ । बिएसकेले पानबारी एफसी धरानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
खेलको म्यान अफ दि म्याच पोग्बा घोषित भए । प्रतियोगिताको चौथो प्रि–क्वाटरफाइनल खेल बिहीबार जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ताबीच हुनेछ ।

मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको आयोजनामा जारी प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैयाँ (भारतीय ५ लाख) र उपविजेताले ४ लाख (भारतीय २ लाख ५० हजार ) प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी अक्टोबर १५ तारिक हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्