जेरुसेलम, असोज २३ । इजरायलले प्यालेस्टाइनीहरूको बसोबास रहेको गाजा क्षेत्रमा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ ।

प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले गाजामा खाद्यान्न, इन्धन, विद्युत् तथा खानेपानी आपूर्ति बन्द गरेको जनाएको हो । त्यस्तै युरोपेली संघले दुई पक्षमा युद्ध सुरु भएपछि प्यालेस्टाइनलाई गर्दै आएको सहयोग रोकेको छ ।

इजरायल र हमासको युद्धको तेस्रो दिन अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि आह्वान र मध्यस्थताका लागि तत्परता देखाएका छन् । कतारका विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले शनिबार रातिदेखि नै वार्ता गरिरहेको समाचार संस्था रोयटर्सलाई बताएका छन् । ‘हाम्रो प्राथमिकता रक्तपातपूर्ण युद्ध अन्त्य गर्नु हो । यस्तै, कैदीबन्दीको रिहाइ र युद्धको असर क्षेत्रीय स्तरमा फैलिन नदिनु पनि हो,’ उनले भने ।

हमासले गाजा क्षेत्रमा बन्धक बनाएका इजरायलीहरूको स्पष्ट तथ्यांक छैन । तर उनीहरूले महिला, बालबालिका, बृद्धबृद्धा र सैनिकलाई समेत बन्धक बनाइएको अनुमान गरिएको छ । हमासका प्रवक्ता होसाम बदरानले हालकै अवस्थामा भने बन्धक बनाइएकाहरूको अदलाबदलीमा तयार नरहेको एएफपीलाई बताएका छन् । यस्तै, रुसका विदेशमन्त्री सर्गेई लाभरोभले दुवै पक्षलाई ‘दुई राज्य’ सम्बन्धी सम्झौतामा फर्किन आग्रह गर्दै यसले मात्र वर्तमान विवाद समाधान हुने बताएका छन् । गाजा क्षेत्रमा इजरायलको आक्रामकताको बारेमा छलफल गर्न अरब लिगका विदेशमन्त्रीहरूको बैठक बुधबार बस्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्