झापा, असोज २३ । इटहरी उपमहानगरपालिका–१७ मझौराकी आफ्नै नातेदार महिलाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार ३५ वर्षिया कमला तामाङलाई खुकुरी प्रहार गरी हत्या गर्ने भोजपुरको साल्पासिलिचोक ९ का ४९ बर्षिय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोमवार अपरान्ह ४ बजे तामाङलाई उनकै ज्वाइँ नाता पर्ने तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । ज्वाइँको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।

उनीहरूबीच जेठी सासु–ज्वाइँको सम्बन्ध थियो । निमाले कमलाकी बहिनीलाई बिहे गरेका थिए । निमाले कमलाको घाँटीमा पटक–पटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीयबासीका अनुसार घरायसी व्यवहार बिग्रिएका कारण जेठीसासु कमलाको निमाले हत्या गरेका हुन् । यसअघि पनि सामान्य विवाद हुँदै आएको र यसपटक भने खुकुरी नै बोकेर नियोजित ढंगबाट प्रहार भएको स्थानीयको दाबी छ । ‘खुकुरीले एकपटक होइन, पटकपटक प्रहार गरे,’ एक प्रत्यक्षदर्शीले भने, ‘घरायसी व्यवहार नै भएपनि हत्या गरिनुले त्रसित भएका छौँ ।’ मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्