मानेभञ्ज्याङ , असोज २३ । टेरिटोरियल आर्मी दार्जिलिङको जितसंगै सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आर्मीले सिलोङ लाजोङ एफसी आसाममाथि ४–१ गोल अन्तरको जित निकालेसंगै सेमिफाइनल पुग्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिएसके जलपाइगुडी र कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भिड्नेछन् ।

दोस्रो सेमिफाइनलमा चाँद एफसी तीनधारिया र टेरिटोरियल आर्मीको भेट पक्का भएको हो । प्रतियोगिताको अन्तिम क्वाटरफाइलन खेलमा वाङदेन तामाङ चम्किएपछि आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ । उनले खेलमा ह्याट्रिक गरे । २० औ, ३५ औ र ४८ औ मिनेटमा उनले गोल गरे । त्यसैगरी एन्थोनी क्षेत्रीले ५९ औ मिनेटमा गोल गरे ।

सिलोङ लाजोङबाट सानोले ५१ औ मिनेटमा सान्त्वना गोल फर्काए । आर्मीमाथि दबाब सृजना गरेपनि डिबक्सभित्र पाएको अवसरहरुलाई सिलोङले सदुपयोग गर्न नसक्दा क्वाटरफाइनलमा पराजित हुन पुगेको हो । खेलको म्यान अफ दि म्याच आर्मीका वाङदेन तामाङ घोषित भए । क्वाटरफाइनल प्रवेशका लागि सिलोङले मानेभञ्ज्याङ फुटबल क्लब र आर्मीले रोलिङ क्लब धुलाबारीलाई हराएको थियो । बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्